काठमाडौं । सरकारले दार्चुलाको तुइन खुस्काएको घटना र त्यसपछिका केही सातामा सोही जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि बारम्बार अनधिकृतरुपमा हेलिकप्टर उडाएको विरोधमा भारत सरकारलाई दुईवटा बेग्लाबेग्लै असन्तुष्टिपत्र ‘कूटनीतिक नोट’ पठाएको छ ।
दुवै घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न परराष्ट्र मन्त्रालयले गत शुक्रबार र आइतबार छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको हो । तुइन घटनाबारे नेपाल सरकारलाई जानकारी दिन पहिलो कूटनीतिक नोट भदौ १८ गते तथा नेपाली आकाशमा अनाधिकृतरुपमा हेलिकप्टर उडाइएकाका सम्बन्धमा भदौ २० गते अर्को नोट नेपालस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारलाई पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई विरोधपत्र पठाइएको बताउँदै मन्त्रालयले नेपाल र भारतबीचका सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न आग्रह गरिएको छ । पछिल्ला दुवै घटनाको वास्तविकताबारे बुझ्न पनि कूटनीतिक नोटमा ध्यानाकर्षण गराइएको छ ।
गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन छानबिन समितिले यही भदौ १५ गते सरकारसमक्ष प्रस्तुत गरेको थियो ।
छानबिन समितिको प्रतिवेदनको निष्कर्ष नेपाल सरकारले सार्वजनिक गरेपछि नयाँदिल्लीमा विदेश मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा सो मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले त्यसबारेमा भारत सरकारलाई औपचारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका थिए ।
जयसिंह धामीको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधको कुनै जवाफ नदिएको भारतले महाकाली भित्रका बस्तीमाथि हेलिकप्टर उडाएको थियो ।