काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले स्पष्ट नपारे अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने बताएका छन् ।
योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ कार्यसमितिलाई मङ्गलवार सम्बोधन गर्दै प्रचण्डले अमेरिकालाई एमसीसीबारे थप प्रष्ट पार्न आग्रह गरिएकाले उसले स्पष्ट नपारेसम्म संसदबाट पास गर्न नसकिने बताएका हुन् । उनले नागरिक तहबाट प्रश्न उठेको विषयमा अमेरिकाले सकारात्मक जवाफ नदिएसम्म यहि अवस्थामा पास गर्न नसकिने बताए ।
एमसीसीको विषय गाउँ–गाउँसम्म पुगेको र आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने प्रचण्डको भनाइ छ । प्रचण्डले एमसीसी संशोधन भयो भने यसबारे सोच्न सकिने बताए ।
राष्ट्रिय स्वाधीनताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै प्रचण्डले बहुसङ्ख्यक नागरिकको इच्छा विपरीत माओवादी केन्द्र अगाडी नबढ्ने उल्लेख गरे ।
वाईसीएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुवोध सिर्पालीलाई चयन भएका छन् ।