काठमाडौं । गएरातिदेखि विहानसम्म परेको वर्षाका कारण अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी लामबद्ध भएर रोकिएका छन् ।
भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।
बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध छन् । पुलबजार नखुले सम्म यातायातका साधन त्यता जान सक्ने अवस्था छैन ।
काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हुदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा काभ्रे हुदै राजधानी छाड्ने र राजधानी भित्रने नाका नै बन्द भएको छ ।
राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका थिए ।
वर्षाले काठमाडौँ उपत्यकाका विभिन्न सडक पनि जलमग्न भएका छन् । काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ ।
उपत्यकामा अरु धेरै ठाउँमा जमेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित पालिकाले खुलाइरहेका छन् । भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए ।
उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न समस्या भएको छ । उपत्यकाका मुख्य र सहायक सडकका कतिपय घर र पसलभित्रै पानी पसेको छ ।
उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन डुबेका छन् । वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ ।
कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोलाको भेल सडक र बस्तीसम्म पुग्ने गरेको छ ।