आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विजुली उत्पादन सुरु, उत्पादित विजुली प्रतियुनिट ३ रुपैया ५० पैसा

सोमबार, भाद्र २१ २०७८

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले  पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ। कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण रुपमा सञ्चालनमा आएको हो।
 स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो।

आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०÷१३२ केभी क्षमताको  खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ।
विसं २०६८ भदो १७ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेको आयोजना निर्माण सकिन  ११ वर्ष लाग्यो । 

आयोजनाको सुरुवाती लागत ३५ अर्ब २९ करोड अनुमान गरिएपनि  सम्पन्न हुदा  ८४ अर्ब रुपैया पुगेको छ।
सुरुवाती चरणमा निर्माण अवधिको व्याज  १४ अर्ब लाग्ने अनुमान गरिएको भए पनि निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै  ३२ अर्ब रुपैया पुगेको छ। यस आधारमा आयोजनाको कूल लागत रु ८४ अर्ब पुगेको छ । आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्छ।
आयोजनामा प्राधिकरणको ४१ प्रतिशत सेयर रहेको छ।

आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट औसतमा तीन रुपैयाँ ५० पैसा रहेको छ।