काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन ःसञ्चालन गरेको छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएको थियो ।
मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा संलग्न हुने, यसअघी एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण भएका तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन भएको हो ।
यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो ।
कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए ।
परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने छ ।