काठमाडौं, भाद्र १९ । केहि दिन यता सरकार गठनको कसरतमा जुटेको तालिबानले अफगानिस्तानमा आज नया सरकार घोषणा गर्ने जनाएको छ । तालिबानले हिजै सरकार घोषणा गर्ने बताएको थियो । यद्यपी तयारी नपुगेको भन्दै आजलाई सारिएको तालिवान नेता मुल्लाह अब्दुल गनीले बताएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको रोयटर्सले जनाएको छ ।
तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादालाई नै अफगानिस्तानको सर्वोच्च नेता बनाउने तालिबानको तयारी छ । केही दिनयता नयाँ सरकार गठनकालागि भन्दै तालिवानले छलफललाई तिब्रता दिदै आएको थियो । नेता गनीका अनुसार तालिबानको सरकारमा राष्ट्रपति र प्रधानमन्त्रीको शासकीय स्वरुप हुने छ । पछिल्लो समय अफगानिस्तानमा महिला अधिकारकालागि सडकमा निस्किएर प्रदर्शन हुन थालेपनि सरकारमा महिला सहभागीताका बारेमा तालिवानले औपचारिक केहि बोलेको छैन । । महिलाहरुले सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार शासन चलाइसकेको तालिबानले समय अनुसार परिवर्तन हुदै सुधारवादी शासन व्यवस्था लागु गर्ने बताउदै आएको छ । अफगानिस्तानको तालिवान नेतृत्वको सरकारलाई पश्चिमा मुलुकहरुले भने मान्यता नदिने बताइसकेका छन् ।