काठमाडौं, भाद्र १९ । कैलालीमा माइक्रो बस र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको अटो रिक्सा ठोक्किँदा घाइते भएका सात जनामध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको मृत्यु भएको हो । ज्यान गएको हो । घाइतेमध्ये केही उपचार पछि घर फर्किएका छन् भने केहीको उपचार भइरहेको छ ।
त्यस्तै, अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची जादै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
११ जना सवार हाईस दुर्घटना हुदा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका सञ्जय विकको मृत्यु भएको हो।
घाईते १० मध्ये ७ जना लाई थप उपचारको लागि बुटवल ल्याईएको छ ।