काठमाडौं, भाद्र १८ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापाको धान सुपरजोन क्षेत्रमा उत्पादन बढे पनि मूल्य नपाउँदा कृषक चिन्तित बनेका छन् ।
सरकारले सुपरजोन घोषणा गरेर धान खेतीमा यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिक खेती गराए पनि बजार र मूल्य निश्चित नहुँदा कृषक समस्यामा परेका हुन् ।
२०७३ सालमा झापालाई धानको सुपरजोन घोषणा गर्दा कृषकले धानको मूल्य पाउने आशा गरेका थिए । कचनकवलस्थित नौलो भविष्य साना किसान कृषि सहकारीका अध्यक्ष रवि ओझाले घोषणा भएको पाँच वर्षमा लक्ष्यअनुसार उत्पादन बढे पनि मूल्य नपाउदा मेहनत खेर गएको बताए ।
परियोजनामार्फत कृषकले अनुदानमा यान्त्रिक उपकरण पाए पनि अहिले प्रयोगविहीन भएका छन् ।
सुपरजोन घोषणा भएपछि उत्पादन, भण्डारण र बजारीकरणमा जोड दिनुपर्नेमा परियोजना कार्यालय नै उदाशीन हुदा कृषकले लाभ पाउन सकेका छैनन् ।
मूल्य नपाउने भएपछि बर्खे धानको उत्पादन घट्न थालेको छ । उत्पादन भएका धानको समेत सरकारले तोके अनुसारको मूल्य नपाउदा किसानले सस्तैमा धान बेच्नु परेको छ । सुपरजोन घोषणा भएपछि उत्साहित भएका किसान अहिले धान खेतमा प्लटिङ्ग गरेर जमिन बेच्ने योजना बनाउन थालेका छन् ।