काठमाडौं, भाद्र १८ । राजधानीसगै जोडिएको उत्तरपूर्वी शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेर नगरकोटमा मासु बेच्न लैजाने क्रममा ५ जना पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकासँग सीमा जोडिएको यो स्थानमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।
धोक्साङबाट बोरामा हालेर मासु लगिरहेका बेला प्रहरीले सोधखोज गर्दा घटना बाहिरिएको हो । गोरु काट्ने औजार , मासु ओसार्न प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
गोरुको मासु बेच्ने कार्यमा संलग्न प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौँमा पेस गरी अनुसन्धानका लागि चार दिनको समय लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।
यसैबीच कागेश्वरी मनोहरा नगरपालिका–८ मा खुल्ला छाडिएका गाई बाच्छा संरक्षण स्थलमा गोरु काटेर मासु बेचेको पत्ता लागेको छ ।