आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

५६ जिल्लाका अधिकांस वडामा कांग्रेसको अधिवेशन, बाकी २१ जिल्लाका वडाको अधिवेशन भदौं २७ अघि नै सकिने

शुक्रबार, भाद्र १८ २०७८

काठमाडौं, भाद्र १८ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन सुरु भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
 
 कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन भएको समितिले जनाएको छ । 
 कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने बताए ।
 
 करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गरेका छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
 
 मुलुकभरका सबै छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले बताए । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थपिने छ । 

 त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
 
 महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।