आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पर्वतमा पहिरोमा परी १० जनाको मृत्यु, एक जना वेपत्ता

शुक्रबार, भाद्र १८ २०७८

पर्वत । पर्वतको विभिन्न स्थानमा आज (शुक्रबार) बिहान गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् ।

मृत्यु हुनेमा एकै परिवारका पाँच जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिंदा परिवारकै पाँच जनाको मृत्यु भएको हो ।

उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीका डीएसपी मिनबहादुर घलेले बताए ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए । उनका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् ।

साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । बिहीबारदेखि नै विद्युत् सेवा अवरुद्ध भएपछि पर्वतमा सञ्चार सम्पर्क समेत विच्छेद छ ।