काठमाडौं, भाद्र १७ । पहिरोमा पुरिएर पोखरामा तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् । गए राति खसेको पहिराले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षका कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङको मृत्यु भएको हो । पहिरोमा पुरिएका तीन वर्षीय छोरा सन्तोष अझै बेपत्ता छन् ।
घाइते भएका आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिरोले घर पुरिँदा घाइते भएका ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही पहिरोमा परी घाइते भएका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् ।
त्यस्तै पोखराको नदिपुरमा जमिन भासिएको छ । बुधबार साँझदेखि परेको पानीले नदिपुरमा घरको आँगन नै भासिएको हो । पोखरा ३ नदिपुर शान्तिमार्गका तीन घरमा क्षति पुगेको छ ।