बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अष्टलक्ष्मीको अवस्था : चौटा खान गएकी बुढी झोल मा डुबेर मरी

बुधबार, भाद्र १६ २०७८

काठमाडौँ l चौटा खान गएकी बुढी झोल मा डुबेर मरी भनेझै तात्कालिक अवस्थामा माघव नेपाल पक्षकी भनेर चिनिने मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार हाल माधव नेपालकै कारण संकटमा पर्ने देखिएको छ ।

नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि बागमती प्रदेशमा विपक्षी गठबन्धन आवद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि बागमती प्रदेशमा एमाले नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

शाक्यलाई त्यसबखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला गर्दै एकल बहुमतको मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका थिए तर बदलिएको राजनीतिक अवस्थासँगै माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । दललाई रोज्दै मंगलवार मात्रै बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा एमालेका १२ प्रदेशसभा सदस्यले सनाखत गराएका छन् ।

उनीहरु नेपालले नेतृत्व गरेको दलमा लाग्दा मुख्यमन्त्री शाक्यको पद धरापमा पर्ने निश्चित छ । संविधानअनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । त्यस्तो अवस्थामा उनलाई मुख्यमन्त्री पद जोगाउन मुस्किल हुनेछ ।

शाक्यलाई प्रदेशमा सरकार जोगाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

कूल १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । त्यसमध्ये १२ जना नेपाल नेतृत्वको दल नेकपा एसमा खुल्दा एमालेमा ४४ जना बाँकी रहन्छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आवद्ध सांसदहरूको संख्या बढी हुने देखिएको छ ।

बागमती प्रदेशमा नेकपा माओवादी २३, कांग्रेस २२ नेकपा एकीकृत समाजवादी १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २, विवेकशील साझा ३, स्वतन्त्र १ प्रदेशसभा सदस्य छन् । नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको संख्या निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्ने देखिएको छ ।

यस्तो अवस्थामा हाल बागमती प्रदेशमा विपक्षी गठबन्धनमा रहेका दलको नेतृत्वमा सरकार बन्न सक्छ । तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्रीका रुपमा भदौ २ गते नियुक्त गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।