बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

भदौरे झरीका कारण पछिल्लो चार दिनमा १५ जनाको मृत्यु , तीन जना बेपत्ता

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । भदौं लागेपछि परेको झरीका कारण मुलुकका विभिन्न स्थानमा  १५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरोमा परेर १५ जनाको मृत्यु भएको जानकारी दिए ।  

उनका अनुसार विपद्मा परेर तीन जना अझै हराइरहेका छन् ।  १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । अवरुद्ध भएका कतिपय राजमार्ग अझै खुल्न सकेका छैनन् । खुलाउने प्रयास भइरहेको छ । प्राधिकरणका अनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् ।  ४४ जना बेपत्ता  छन् भने १०९ जना घाइते भएका छन् ।

यो वर्षको मनसुनमा ६  हजार १ सय ८१ जना विस्थापित भएका छन् । उनीहरुलाई  स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले बताए ।  पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ ।