बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्ततः अफगानिस्तानमा २० वर्षे युद्ध समाप्त, अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता

मंगलबार, भाद्र १५ २०७८

काठमाडौँ l अफगानिस्तानस्थित काबुलको उत्तरी क्षेत्रमा रहेको महत्वपूर्ण बेस क्याम्पबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम टोली फिर्ता भएका छ।

तालिबान बिद्रोहीले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्ना गतिविधि सक्रिय पार्दै लगेका बेला उनीहरु फिर्ता भएका हुन्। २० वर्षसम्म विद्रोहीविरुद्धको युद्धको महत्वपूर्ण केन्द्रका रुपमा रहँदै आएको बाग्राम हवाई अड्डाबाट सैनिकको टोली फिर्ता भएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका हुन्।

योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ । यस्तै विगत दुई हप्तादेखि काबुलबाट भइरहेको उद्धार कार्य पनि अन्त्य भएको अमेरिकाले उल्लेख गरेको छ ।

अमेरिकाले आफ्नो इतिहासमा सबैभन्दा लामो युद्ध अन्त्य भएको जनाएको हो । सन् २००१ मा अल कायदाले गरेको आतंककारी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य अभियान सुरु गरेको थियो । उसलाई नेटो अन्तर्गतका सहयोगी राष्ट्रहरुले साथ दिएका थिए ।

अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन निकै गम्भीर र ‘पराजय’ पूर्ण देखिएको छ । तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेसँगै अमेरिकाले आफ्नो अभियान अन्त्य गरेको हो ।

अमेरिकी सैनिक जनरल फ्र्यांक म्याकेन्जीले पछिल्लो दुई हप्तामा अफगानीसहित एक लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जानकारी दिएका छन् । अमेरिकी सैनिकको फिर्ती प्रक्रियाको नेतृत्व जनरल म्याकेन्जीले गरिरहेका हुन् ।

अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता भएसँगै तालिबान समर्थक शक्तिले काबुलमा उत्सव मनाएका छन् । त्यसक्रममा काबुलमा भीषण गोलीहानाहान भएको उल्लेख छ ।