काठमाडौं, भाद्र १५ । चिनको वुहान प्रान्तबाट महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण अहिलेसमम विश्वभरमा झण्डै ५० लाख मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एएफपीका अनुसार विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्कले कम्तीमा ४५ लाख ५० हजार ६२० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । तथ्यांक अनुसार अमेरिका विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकको रुपमा दर्ज भएको छ ।
कोभिड १९ को तेस्रो लहर ब्योहोरी रहेको विश्वले फेरि डेल्टा भेरिएन्टको सामना गर्नु परेको छ । चाडै संक्रमण फैलन सक्ने अद्भूत क्षमताको डेल्टा भेरियन्टले गत अप्रिलमा भारतमा उपस्थिती जनाईसकेको छ ।
भारतमा पहिचान भएसगै विश्वभरका अधिकांश देशहरूमा डेल्टा फैलिएको छ । कोभिड महामारीका कारण सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मानिसको मृत्यु भएको छ ।
विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट रोक्ने अनुमानका बीच भाइरसका नयाँ नयाँ रूप देखिदा महामारी नियन्त्रण गर्न धनी भनिएका देशलाई समेत हम्मे हम्मे परेको छ ।
विश्व भर खोप लगाउने क्रम चलिरहे पनि डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने बैज्ञानिकहरुले बताइरहेका छन् ।