काठमाडौं, भाद्र १४ । भदौं लागेपछि परेको वर्षाका कारण पछिल्लो तीन दिनमा बाढी र पहिरोमा परेर १२ जनाको मृत्यु भएको छ । मनसुनी विपद्बाट देशभर करिब ४ हजार पाँच सय घर डुवानमा परेको र ९० हजार भन्दा बढी जनसंख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
त्यसैगरी चार जना वेपत्ता र तीन जना घाइते भएका छन् । बाढी पहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७ सय ५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ ।
प्राधिकरणका अनुसार देशका पहाडी र तराई क्षेत्रमा दर्जनभन्दा बढी सडक अवरुद्ध छन् ।
यसैबीच सप्तकोशी नदीमा हिजो यस वर्षकै उच्च वहाव मापन भएको छ ।
बहाव बढेपछि ब्यारेजका ३५ वटा ढोका खोलिएको छ ।