काठमाडौं, भाद्र १३ । अफगानिस्तानबाट उद्दार गरिएका ८ नेपाली आज काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गरिरहेको सरकारले आज थप आठ जनालाई कतारबाट नेपाल ल्याएको हो । उनीहरुलाई अफगानिस्तानबाट उद्दार गरेर हिजो दोहा ल्याइएको थियो ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्यलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबै नेपालीसग नियमित सम्पर्कमा रहेको मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ७ सय ७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।