काठमाडौं, भाद्र १२ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा धेरै हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको पनि महाशाखाले जनाएको छ ।
मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको खुलेको छ ।