आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नवलपरासीमा बाढीको बितण्डा, दुई जनाको मृत्यु एक बेपत्ता

शनिबार, भाद्र १२ २०७८

काठमाडौं, भाद्र ११ । बाढीका कारण नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घरमा जाने क्रममा उनीहरुलाई भेलले बगाएको हो ।

दुवै जनाको शव घर नजिकैको खेतमा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी बाढीबाट ज्यान जोगाउन निस्कँदा सुनवल–१३ की ओरिसा तामाङलाई भेलले बगाएर बेपत्ता बनाएको  छ । मध्यरातमा एक्कासी आएको बाढीले  गएरातिदेखि शुक्रबार दिनभर पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ।  बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरू डुबानमा परेका छन् । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो । १० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीय बताउँछन् । 

सदरमुकामसँगै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिनुभयो । अधिकांश घर डुबानमा परेका कारण क्षतिको विवरण यकिन हुन नसकेको लामाले बताउनुभयो ।

सदरमुकाममा स्थानीय झरही खोलाबाट आएको बाढीका कारण घर डुबानमा परेका हुन् भने अन्य स्थानीय खोलाका कारण नवलपरासीका अन्य गाउमा पनि बाढीले वितण्डा मच्चाएको हो ।  पानीको निकास नभएका कारण घर डुबानमा परेको प्रहरीले जनाएको छ । दिउँसो २ बजेदेखि पानीको सतह घट्दै गएको छ ।

बाढीका कारण पूर्वपश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । तुरिया खोलामा आएको बाढीले पुल भाँचेपछि सडक अवरुद्ध भएको हो । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन समेत बगाएको छ । अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।