काठमाडौं, भाद्र ११ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ९० जनाको मृत्यु भएको छ । ति मध्ये १३ जना अमेरिकी सुरक्षाकर्मी छन् । काबुल विमानस्थलमा बिहीबार दुईवटा शक्तिशाली विस्फोट भएका थिए । विस्फोटमा परेर अन्य धेरै अमेरिकी नागरिक घाइते भएका छन् ।
बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो। आतंकवादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए ।
तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन् । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरुलाई नछाड्ने चेतावनी दिएका छन् । अपराधीहरुलाई खोजेरै छाड्ने बाइडेनको भनाई छ ।
अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।