काठमाडौं, भाद्र ११ । अविरल वर्षाका कारण नवलपरासी बर्दघाट सुस्तापूर्व बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब ९ बजेतिर डाइभर्सन बाढीले बगाएको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न समस्या भएको छ ।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा समेत पहिरो गएको छ । दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ । प्रहरीको टोली त्यसतर्फ गए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ ।
अविरल वर्षाका कारण नवलपुरका धेरै ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पु¥याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ । त्यस्तै
नारायणगढ मुग्लिङ सडक पनि बन्द भएको छ । सेतिदोभानमा पहिरो गई दुईतर्फी बाटो बन्द भएको चितवन प्रहरीले जनाएको छ ।
साँझ ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएकोले अन्य सडक प्रयोग गर्न चितवन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।