काठमाडौं, भाद्र १० । शीर्ष नेताले क्रियाशील सदस्यताको विवाद मिलाएको समाचार नआउदै सोही मुद्दालाई लिएर महाधिवेशनमा जुटेको कांग्रेसका जिल्ला सभापतिहरुको अनसनलाई अन्य सभापतिहरुले पनि साथ दिन थालेका छन् । दुई दिन अघि क्रियाशील सदस्यता प्रकाशनको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिले केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनशनमा आज मधु आचार्य, जगदीश्वरनरसिंह केसी र रमेश धमलालाई आज अन्य नेताहरुले प्रतिष्थापन गरेका हुन् । आज तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेत सभापति कमलराज रेग्मी र डोल्पा सभापति अंगद बुढाले पालो दिएका हुन् ।
अनशनमा बसेका युवा नेताहरू नेविसंघ पूर्वअध्यक्ष रञ्जीत कर्ण र नेविसंघकै पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीलाई अहिले नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्यले प्रतिस्थापन गरेका छन्।
जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्न, सार्वजनिक भएपछि त्यसमा भएका त्रुटि सच्याउनका लागि कम्तीमा २४ घण्टाको समय उपलब्ध गराउन माग गरेका छन् ।
लोकतन्त्र र पारदर्शीताको कुरा गर्ने कांग्रेसलाई जिल्ला सभापतिहरूले गम्भीर प्रश्न उठाउँदै रिले अनशन सुरु गरेका हुन् । जिल्ला सभापतिलाई धर्नामा साथ दिन विभिन्न जिल्लाबाट सभापतिहरू राजधानी आउन थालेका छन् ।