बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तर निकाय समन्वयको अभावमा राष्ट्रिय गौरबका आयोजनामा लागत ४ खर्ब बढ्यो

बिहिबार, भाद्र १० २०७८

काठमाडौं, भदौं १० । सरकारी निकायको समन्वयको अभावमा राष्ट्रिय गौरबका आयोजनाको नै बेहाल भएको छ। सुरु लागत भन्दा ४ खर्ब बढि खर्च हुने देखिदा समेत कैयन आयोजनाको १५ प्रतिशत पनि काम भएको छैन ।

महालेखाको ५८ औं प्रतिवेदनले सरकारले उच्च प्राथमिकता दिएका भनिएकै विकास आयोजनाको भौतिक प्रगति निराशजनक रहेको  देखाएको छ। सरकारले उच्च प्राथमिकता दिएर  निर्माण अघि बढाउन लागेका र कति निर्माण सुरु भएका राष्ट्रिय गौरवका आयोजना २४ वटा छन् । तर, माथिल्लो तामाकोशी वाहेक कुनै पनि पूरा भएका छैनन् ।   

पुष्पलाल मध्य पहाडी राजमार्ग २०७४÷७५ मा सम्पन्न गर्ने लक्ष्यसहित २०६४÷६५ मा सुरु भएको थियो । १४ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा ४६ अर्ब भन्दा बढी खर्च भइसकेको छ । तर भौतिक प्रगति ५० प्रतिशत पनि भएको छैन । लागत सात गुणा बढेर एक खर्ब नाघिसकेको छ । नया भाकामा पनि यी आयोजना पूरा हुने आधार छैन ।

त्यस्तै आर्थिक वर्ष २०६६÷६७ मा सुरु हुँदा हुलाकी रागमार्गको लागत २० अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । तर लक्ष्य अनुसार काम हुन सकेन । १७ सय ८९ किलोमिटर लामो सडकको कालोपत्र र २ सय १९ वटा पुल निर्माण आर्थिक वर्ष २०७४÷७५ सम्म सक्ने लक्ष्य थियो । तर ५४ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । जबकि अनुमानितभन्दा ७५ प्रतिशत बढी बजेट खर्च भइसकेको छ । यो आयोजना पूरा गर्न ६५ अर्ब २० करोड  रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

३३ वर्षअघि सुरु भएको बबई सिंचाइ आयोजना नै कहिले पूरा हुन्छ भन्ने टुंगो छैन । २ अर्ब ८७ करोड रुपैयाा लागत अनुमान गरिएको यो आयोजनामा साढे ८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । बााकी ४८ प्रतिशत काम गर्न अब ११ अर्ब रुपैयाा खर्च हुने अनुमान छ । विकास आयोजनामा मुआब्जा र रेखांकन विवाद, निकायगत समन्वय अभाव जस्ता समस्या पुरानै हुन् । तर समाधानमा प्रगति नभएकाले आयोजनाको अवधि र लागत बढेको बढ्यै गरेको छ ।