आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकीकृत समाजवादीले पायो पार्टी दर्ताको प्रमाण पत्र, प्रदेश र स्थानीय तहकालागि दल रोज्न २१ दिनको समय

बिहिबार, भाद्र १० २०७८

काठमाडौं,भाद्र ९ । निर्वाचन आयोगले नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई दर्ता प्रमाणपत्र दिएको छ ।  माधव नेपालले नेतृत्व गरेको समूहले दर्ता गराएको समाजवादी पार्टीकालागि आयोगले आज उनीहरुको हस्ताक्षरको सनाखत गरेको थियो ।

आयोग कार्यालयमै बोलाएर गरिएको सनाखत प्रक्रियापछि आज साझ आयोगले सो समूहको दललाई प्रमाणपत्र दिएको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ । यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो  ।

मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने नेता पाण्डेले बताउनुभयो । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।