काठमाडौं, भाद्र ९ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
स्थायी कमिटी बैठकका निर्णय र पार्टी भित्रको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउने तयारी गरेका हुन् ।
निर्वाचन आयोगले माधव नेपाल समूहको दल दर्ताका लागि सनाखत शुरु गर्ने समय पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने बताइएको छ।
माधवकुमार नेपालको साथ छाडेका एमाले नेताहरु समेत सहभागी हिजोको बैठकले पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरिसकेको छ ।
आजै एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ।आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको छ ।
आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । तोकेको समयभित्र सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।