काठमाडौं, भाद्र ८ । चार महिना यता जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा केहि खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जारी राख्दै भदौ १६ गतेसम्म थप गरिएको हो ।
यसअघि लगाइएको निषेधाज्ञा आज राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक आज बाट हट्ने भएको छ ।
अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। यस अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, दर्शकसहितको खेलकुद लगायतका भीडभाडयुक्त गतिविधि गर्न रोक लगाइएको छ।
यस्तै शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न पाइने छैन। तर जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर परीक्षा भने सञ्चालन गर्न पाइने छ।