काठमाडौं भाद्र ७ । एमालेबाट विभाजित हुन लागेको माधव नेपाल समूहका नेताहरु एकान्तवासकालागि चन्द्रागिरी रिसोर्टमा भेला भएका छन् । निर्वाचन आयोगमा सनाखतको दिन नजिकिदै गर्दा नेपाल समूहले आफ्ना नेतालाई रिसोर्टमा जम्मा गरेको हो ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी का नेताहरूलाई आवासीय भेलामा लैजानुको उद्देश्य भनेको नेताहरु दायाँबायाँ नहुन् भन्ने उद्देश्य नै रहेको एक नेताले बताए ।
ती नेताका अनुसार उनीहरूका लागि ५० बेड बुकिङ गरिएको छ । अपुग भए अन्य बेड पनि तयारी अवस्थामा राखिएको छ ।
एकान्तबासमा नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्ने आकलन गरेको नेपाल समूहले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन् । सनाखत हुने दिन बुधबारसम्मै नेताहरुलाई रिसोर्टमा राखिने तयारी छ ।