काठमाडौं– प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार दुई घन्टा वार्ता गरेका छन्।
एमाले विभाजन गरी नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका नेपाल पक्षका सांसदको सनाखत बुधबारका लागि निर्वाचन आयोगमा तोकिएका बेला यो भेटलाई अर्थपूर्ण मानिएको छ।
राष्ट्रपति भण्डारीले शितल निवास डाकेका नेपाललाई पार्टी विभाजन भन्दा पनि त्यसलाई उन्नत बनाउने कुरामा अघि बढ्न भनेकी थिइन्। तर नेपालले पार्टी दर्ताको प्रक्रिया अघि बढेका कारण तत्काल एकता हुने सम्भावना नरहेको भनी नयाँ बाटोतिर मोडिने जवाफ दिएको स्रोतले जनायो।
यता बालकोटमा नेपाल पक्षलाई सहयोग गर्दै आएका पदाधिकारीसँग अध्यक्ष केपी शर्मा ओलीको सहमति भएपछि १० बुँदे प्रस्ताव अनुसार नै अघि बढ्ने र पुरानै जिम्मेवारी दिने विषयमा सहमति भयो। सोसँगै मंगलबार एमाले स्थायी कमिटीको बैठक राखी फेरि एकताका लागि अपिल गरिने सहमति बनेको थियो।
यस्तो बेला नेता नेपाल भने पार्टी विभाजनको गतिमा बढेका कारण तत्काल पछाडि फर्कन नसक्ने भन्दै शितल निवासबाट निस्किएको स्रोतले बतायो। ‘अब एकताको कुरा सम्भव छैन, हामी अघि बढीसकेका छौं। आउनेलाई स्वागत छ नआउनेसँग जोरजबरजस्ती छैन’, नेपाल पक्षका एक नेता भन्छन्,‘अब कुनै अलमल हुनेछैन।’