काठमाडौं, भाद्र ७ । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी नेवार समुदायको महत्वपूर्ण पर्व हो ।
गाईजात्राको अवसरमा वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा गाईको अनुहार र गणेशको चित्र अंकित गरी शहर परिक्रमा गर्ने चलन छ ।
यसो गर्दा मृतकको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।
नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन पनि गराउने चलन छ । यो जात्रा काठमाडौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुवेपछि, रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक परयो भनेर देखाउन गाई जात्राको चलन बसालेको विश्वास छ । काठमाडौं उपत्यका लगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, तानसेनलगायत देशैभर यो पर्व मनाइन्छ ।
भक्तपुरमा गाईजात्राको दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरुको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गर्ने चलन छ ।
गाईजात्राको अवसरमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यो पर्व मनाउने गरिन्छ । कोरोनाका कारण यो बर्ष पनि डिजिटल माध्यमबाट सिमित मानिस भेला भई यस्ता प्रहसनहरु गरिदैछ ।
गाइजात्रा पर्वको अवसरमा बाग्मती प्रदेशमा र देशैभर नेवार समुदायलाई सार्वजनिक बिदा दिइएको छ ।