आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

क्रियाशील सदस्यता सम्बन्धी विवाद सुल्झिएको समितीको दाबी, आजै सभापति देउवालाई प्रतिवेदन बुझाउने

आइतबार, भाद्र ६ २०७८

काठमाडौं, भाद्र ६ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न गठित समितिले आफ्नो काम सम्पन्न गरेको दाबी गरेको छ । समितिले आजै सभापति शेरवहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।   क्रियाशील सदस्यताको विवाद टुंगो लगाउन कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले विवाद समाधान गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरेपछि विवाद समाधान भएको समितिमा रहेका नेताहरुले बताएका छन् ।

आज साँझसम्ममा सभापति देउवालाई सहमतिको प्रतिवेदन बुझाउने नेताहरुको भनाई छ । समितिका अनुसार १४औं महाधिवेशनको तालिका प्रभावित नहुने गरी विवाद समाधान गरिएको हो । 
बारा, सप्तरीलगायत छ जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको विवाद थियो । यसअघि रमेश लेखकको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठीत समितिले देशभरका १५० भन्दा बढी वडामा देखिएको विवादमा १३औं महाधिवेशनको क्रियाशील सदस्यतालाई आधार मान्ने गरी मिलाएको थियो ।

तर बारा र सप्तरी लगायतका जिल्लामा देखिएको विवाद मिलाउन नेतात्रयलाई जिम्मा दिइएको थियो । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ । यसकालागि  भदौ १८ गते कांग्रेसले वडाको अधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।