काठमाडौं, भाद्र ५ । अफगानिस्तानबाट उद्धार गरिएका करिब ६ सय नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५ सय २२ जना स्वदेश फर्किएका हुन् भने थप ३ सय १७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् ।
अफगानिस्तानमा विद्रोही तालिवान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश फर्किरहेका छन् । स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानमार्फत आएका हुन् ।
अफगानिस्तानबाट काठमाडौँ आएका नेपालीलाई गृहमन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पुरा गरी घर पठाउने छ । नेपाली सेनाले सामाखुसी र इचङ्गुनारायणमा होल्डिङ सेन्टर बनाएको छ ।
रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।