आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिका पञ्चेबाजा बजाउदै घर घर पुग्ने तयारीमा

शनिबार, भाद्र ५ २०७८

काठमाडौं , भाद्र ५ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न पञ्चेबाजा बजाउदै  टोलटोलमा जाने तयारी गरेको छ ।  बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्धित करदाता निकाय सम्पर्कमा नआएकाले गीत गाउदै घर घर जाने नया योजना बनाएको हो ।  आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने  छ ।  

 यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ वटा ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । तर धेरैले अटेर गर्दै आएका छन् । दुई पटक  सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता भएपछि महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले बताए ।  

 आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने महानगरले चेतावनी दिएको छ ।  
 मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ , सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।

त्यस्तै ओम सान इन्टरनेशनल कलेज -हेल्पिङ ह्यान्ड्स, गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तीर्न बाँकी छ  । कर नतिर्ने अर्धसरकारी संस्थाले भने आफुहरु पनि सरकारी रहेकाले तिर्नु नपर्ने जिकिर गर्दै आएका छन् ।  

यसैबीच,

सूचना सार्वजनिक गरेपछि हालसम्म करिब  तीन करोड रुपैया बक्यौता असुल गरिएको छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा  एक करोड ५३ लाख राजस्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वल्र्ड ट्रेड सेन्टर)ले  एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हीराचनले आगामी १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिएका छन् ।