काठमाडौँ । माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको नाममा निर्वाचन आयोगले दल दर्ता नगरिदिएपछि नेकपा एकीकृत समाजवादी नाम बाट अर्को निवेदन दर्ता भएको छ । नेपाल समूहले यसअघि प्रस्ताव गरेको नाममा नेकपा एमाले समाजवादी थियो ।
आयोगले मुल पार्टीको नाम नयाँ पार्टीमा झुण्ड्याउन नमिल्ने बताएपछि नेपाल समूहले नेकपा एकिकृत समाजवादी राखेर पुनः दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।
एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । नियमावली र ऐनअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न दोहोरिएर राख्न नमिल्ने व्यवस्था छ ।
महन्थ ठाकुरले जसपा लोकतान्त्रिकको नाममा दल दर्ता गराउन गरेको प्रयास पनि विफल भएको छ । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रस्ताव गरिएको छ ।
गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक) पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज नाम फेरेको हो ।