काठमाण्डौ, भाद्र ३ । विश्व बैंकले नेपालको उच्च शिक्षाका लागि ६ करोड अमेरिकी डलर अर्थात् झण्डै ७ अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सो सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीका लागि खर्च गरिने योजना छ ।
विश्व बैंकका देशीय निर्देशक फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँचयोग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको भन्दै कार्यक्रमले नेपालको पुनरुत्थानशीलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेका छन् ।