आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विराटनगरका निजी शैक्षिक संस्थालाइ अनलाइन पढाएको शुल्क आधा मात्र लिन महानगरको निर्देशन

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौं, भाद्र ३ । विराटनगर क्षेत्रका निजी शैक्षिक संस्थालाइ अनलाइन पढाएको शुल्क आधा मात्र लिन महानगरपालिकाले निर्देशन दिएको छ । निजी विद्यालय र प्लस टु सञ्चालकलाई अनलाइन अध्यापन अवधिमा मासिक ५० प्रतिशत मात्र शुल्क लिन विराटनगर महानगरपालिकाले निर्देशन दिएको हो ।

विद्यालयले अनलाइन कक्षा पढाउँदा पनि जबर्जस्ती साबिककै चर्को शुल्क लिएको भन्दै चार सयभन्दा बढी उजुरी परेपछि महानगरको बोर्ड बैठकले अनलाइन अवधिमा ५० प्रतिशतमात्र शुल्क लिन निर्देशन दिएको महानगरका प्रवक्ता उद्धव अर्यालले जानकारी दिए ।

उनका अनुसार हरेक विद्यालयले अभिभावक संघ गठन गर्नुपर्ने र अभिभावकको सहमतिमा शुल्क निर्धारण गर्नुपर्ने निर्णय भएको छ । महानगरको बोर्ड बैठकले विद्यालयले निर्देशन अवज्ञा गरे कारबाही हुने महानगर शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । खतिवडाले कक्षा कोठामा पढाउन भन्दा अनलाइन पढाउँदा विद्यालयको ठूलो मात्रामा खर्च कटौती हुने भएकाले पनि अनलाइन अवधिमा ५० प्रतिशत मात्र शुल्क लिन भनिएको जानकारी दिए ।  

विद्यार्थीलाई अनलाइनमार्फत पढाउन अभिभावकलाई मोबाइल, ल्यापटप, इन्भर्टर र अनलाइन प्रविधि जडान गर्न लगाउँदा यसअघि नै अभिभावकलाइ आर्थिक भार परेको छ । अभिभावकले त्यति खर्च गरे अनलाइन प्रविधि जडान गरे पनि विद्यालय र प्लस टुले साबिककै शुल्क लिन जायज नहुने महानगरको बुझाइ छ । महानगर क्षेत्रमा  १ सय ८१ वटा शिक्षण संस्था छन् ।

तर महानगरको निर्देशनलाई लिएर निजी विद्यालय सञ्चालकहरूले असन्तृष्टि जनाएका छन् । 

निजी विद्यालय सञ्चालकहरूले सरोकारवालासँग समन्वय नगरी महानगरले एकलौटी निर्णय गरेको भन्दै निर्देशनको पालना नगर्ने बताएका छन् ।