काठमाण्डौं भाद्र ३ । नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ जना सासदहरुलाई यथासक्य चाडो पदमुक्त गराइदिन सभामुख अग्नि सापकोटालाइ आग्रह गरेको छ ।
सभामुखको कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई तत्काल पदमुक्त गर्न दबाब दिएका हुन् ।
एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि सोही व्यहोराको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो।
यसरी संसद सचिवालयमा कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने संसदीय परम्परा छ। सभामुखको ध्यानाकर्षण गराउन प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरीसहित सांसदहरु कृष्णभक्त पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, निरु पाल गरि १४ सांसद पुगेका थिए।
सभामुखको ध्यानार्षण गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले कारबाहीमा सभामुखले तुरुन्तै सूचना जारी गरेर कारबाही गर्नु पर्ने बताए ।
एमालेको ध्यानाकर्षणपछि सभामुख सापकोटाले यसबारेमा आफूले अध्ययन गरिरहेकोले कानून अनुसार निर्णय गर्ने बताएका छन् ।