आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सिसडोलमा फोहरको टाकुरा बन्यो , काठमाण्डौंको फोहर अझै केहि दिन उठाउन नसकिने

बिहिबार, भाद्र ३ २०७८

काठमाण्डौं , भाद्र ३ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फेरि समस्या भएको छ । गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरिसकेको छ । 

महानगरपालिकाका अनुसार निरन्तर पानी परिरहेकाले अझै केही दिन फोहर व्यवस्थापनमा समस्या हुनसक्ने महानगरको भनाइ छ । महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेकाले घरबाट फोहर निकाल्न अझै केहि दिन लाग्ने भएको छ ।   निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहरको थुप्रो व्यवस्थापन गर्न असहज भएकाले काठमाण्डौबाट फोहर नउठाइएको हो ।  महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको छ । 

 काठमाण्डौमा  हरेक दिन २०० गाडीले फोहर व्यवस्थापन गर्दै आएका थिए । अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ ।

फोहर उठाउन नसक्दा काठमाडौँका सडक किनारामा  थुप्रिएका फोहरका डंगुरले दुर्गन्ध फैलिएको छ ।  महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दै आएको छ ।  

 हाल फोहर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी  सँग ठेक्का सम्झौता गरिएको थियो । त्यो परियोजना बन्न नसक्दा काठमाण्डौंको फोहर व्यवस्थापन महानगरकालागि सधै टाउको दुखाइको विषय बन्दै आएको छ ।