काठमाण्डौ, भाद्र ३ । नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको दलले औपचारिकता पाउन अझै केहि दिन लाग्ने भएको छ ।
आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली नबनेसम्म दल दर्ता गर्न सकिदैन । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसगै त्यसअनुसार नियमावली संशोधन गर्नु पर्ने हुन्छ यसकालागि थप केहि दिन लाग्ने भएको हो । दल दर्ताका लागि निवेदन परेको ३५ दिनभित्र आयोगले निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यादेशअनुसार नियमावली संशोधन भएपछि दल दर्ताको लागि परेको निवेदनमाथि औपचारिक अध्ययन हुने छ । सबै प्रक्रिया पूरा गर्न कम्तीमा पनि एक हप्ता भन्दा बढी समय लाग्न सक्ने श्रेष्ठको भनाइ छ ।
निर्वाचन आयोगमा हिजो माधवकुमार नेपाल अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले समाजवादी र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिकको दल दर्ताका लागि निवेदन दर्ता भएका छन् ।
नयाँ दल दर्ताको लागि प्रस्तावित नाम, चिह्नलगायतका विषय मिल्ने–नमिल्ने हेरेर आयोगले निर्णय लिनेछ । नयाँ दल दर्ताको लागि केन्द्रीय कमिटी कम्तीमा २१ जनाको र कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ । यस्तै केन्द्रीय सदस्यहरु सबैको नागरिकता र मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्नेछ ।
आयोगले नाम, झण्डा र चुनाव चिह्नबारे पनि अध्ययन गर्नेछ । सबै प्रक्रिया पूरा गर्दा कम्तीमा १५ दिनसम्म लाग्न सक्ने आयोगको भनाइ छ ।