काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दर अझै घटेको छैन । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार तीन सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।
१६ हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय तीन जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो । आज परीक्षणको २० प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख १७ हजार पाँच सय ३० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय चार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार एक सय ७३ जना पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ ।
योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ९६ पुगेको छ । कोरोनाका सङ्क्रमितमध्ये सात सय ७० जनाको आईसीयू र एक सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।