काठमाडौं l कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल चालु महिनाको अन्तिम साताबाट खुल्ने भएको छ।
विभागले निषेधाज्ञा शुरू लगतै गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताउदै बन्द गरेको करिब ४ महिना पश्चात निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले महानिर्देशक नवराज घिमिरेको नेतृत्वमा कार्यालयहरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको हो ।
गाडी चलाउने लाइसेन्स लिन अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन्। विभागले कोटा प्रणाली हटाएर अनलाइन आवेदन ‘अनलिमिटेड’ बनाइदिएका कारण ठूलो संख्यामा सेवाग्राहीले आवेदन दिएका हुन्। अहिले अनलाइन आवेदन पनि बन्द गरिएको छ। ट्रायल खुल्ने टुंगो लागेपछि अनलाइन आवेदन पनि खुलाउने तयारीमा विभाग छ। सुरुमा आवेदन दिएका सेवाग्राहीले पहिलो प्राथमिकता पाउनेछन्।