विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूले अब कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागका निर्देशक डा तारानाथ पोखरेलका अनुसार स्वास्थ्य निर्देशनालय, सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न भनिएको छ ।
त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् ।
परीक्षा केन्द्रबाट सङ्क्रमण फैलने डर रहेको भन्दै परीक्षार्थीहरूले खोपको माग गर्दै त्रिवि घेराउलगायतका विरोधका कार्यक्रम गर्दै आएका थिए ।
