काठमाडौं, l काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४ किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका–४ पेडा बस्ने २० वर्षीय संजय लामालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.४ ख ४४४७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा बसमा सवार लामाले झोलामा लुकाई ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्ती विपुलचोक बस्ने काभ्रे रोसी गाउँपालिका–१ घर भएका ३१ वर्षीय विजय घिसिङलाई करिब ३ केजी अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध ६ एम्पुल नोर्फिन, ६ एम्पुल डाइजेपाम, ६ एम्पुल प्रोमेटाजिन र नगद १० हजार ५ सय ५० रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मैनावगरबाट नियन्त्रित लागूऔषध ४ सय ५७ एम्पुल फेनरागन, ४ सय ६२ एम्पुल नुफिन, ४ सय ७६ एम्पुल सेरीजेट, ६ सय ७५ चक्की नाईट्रोसन र ७० चक्की नाईट्रोभ्याट सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका–३ खजना बस्ने ४५ वर्षीय ‘रमेश गुप्ता’ भनिने प्रकाश बाँनिया, बुटवल उपमहानगरपालिका–२ मैनावगर बस्ने ४५ वर्षीया सानदेवी पुन र नवलपरासी सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन रहेका छन् । गत असार ३० गते कास्की पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन कुमार गुरुङ नियन्त्रित लागूऔषध सहित पक्राउ परेकोमा थप अनुसन्धान गर्ने क्रममा गुरुङले ‘रमेश गुप्ता’ भन्ने व्यक्ति मार्फत लागूऔषध खरिद गर्ने गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ बाहुनप्लानबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय दिपक तामाङ र ३० वर्षीय रमेश तामाङ रहेका छन् । प्र.३–०२–०११प८६२८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बैरेनिबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक दिपक र मोटरसाइकलमा सवार रमेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।