काठमाडौं । पर्साको पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वाटोल बस्ने ६५ वर्षीय बासुदेव माझीलाई २७ किलो अवैध लागूऔषध गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित पोखरीको डिल हुँदै लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरीले माझीले बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
रुपन्देहीको बुटवल उपहानगरपलिका–११ योगिकुटीबाट नियन्त्रित लागूऔषध ९१ थान नुफिन, ९१ थान डाईजेपाम, ९१ थान फेनारगन र १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित देवदह नगरपालिका–१० भुही बस्ने ३४ वर्षीय सुमन थापा लगायत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गुल्मेली अर्जुन होटलमा जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका–२ चौराहस्थित सिटि होटलबाट ६ ग्राम अवैध लागूऔषध हेरोइन सहित सोही उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय सुरज पार्कीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटेल जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।