शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अवैध लागूऔषध सहित पक्राउ

शुक्रबार, असार २५ २०७८

काठमाडौं, काठमाडौंको खिचापोखरी र टेकुबाट २ केजी ८ सय ८० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु र मकवानपुर थाहा नगरपालिका–११ बस्ने ३० वर्षीय राम तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा लागूऔषधको किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले अर्जुनलाई २ सय ८० ग्राम लागूऔषध चरेश सहित पक्राउ गरी सोधपुछ गर्दा उक्त लागूऔषध राम सँग खरिद गरी ल्याएको बताएपश्चात रामलाई काठमाडौं महानगरपालिका–१२ टेकुबाट २ केजी ६ सय ग्राम चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका–१ गाईघाट टोल बस्ने बुद्धिमान तामाङलाई १३ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहाको धनगढीमाई नगरपालिका–११ नैनपुरबाट ६ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध स्पामो ६ सय ट्याबलेट सहित सोही ठाउँ बस्ने २५ वर्षीया निला महतोलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले पवन महतोको घर तलासी गर्दा घरभित्र लुकाई राखेको उक्त लागू औषध सहित फेला पारी उनकी श्रीमती निलालाई पक्राउ गरेको हो । हाल फरार पवनको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।