काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपल चौतराबाट करिब ६० केजी अबैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–६ बस्ने २६ वर्षीय संजय चौधरी र सोही ठाउँ बस्ने ४८ वर्षीय लालजी साह रहेका छन् । चितवनबाट बारातर्फ जाँदै गरेको ना.४ च १५०१५ नम्बरको गाडीलाई प्रहरी चौकी रातोमाटेबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा गाडीको पछाडिको भागमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी गाडी चालक चौधरी र गाडीमा सवार साहलाई पक्राउ गरेको हो ।
यसैगरी, मकवानपुर, हेटौडा उपमहानगरपालिका–५ स्थित प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको गाडीबाट करिब ८० केजी अबैध लागूऔषध गाँजा बुधबार साँझ प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीलाई देख्नासाथ गाडी छोडी चालक फरार भएपश्चात जाँच गर्ने क्रममा उक्त गाँजा प्रहरीले फेला पारी बरामद गरेको हो । फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जंगलबाट ४० केजी अबैध लागूऔषध गाँजा सहित लालबन्दी नगरपालिका–११ बाहुनी टोल बस्ने २४ वर्षीय संगी लामा लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लालबन्दीबाट बाँकेजंगलतर्फ जाँदै गरेको ना.६३ प ६७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको साईडमा बाँधी राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।