मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ तिनताप्केस्थित सडकबाट प्रदेश ३–०३–००१ ख ०१३२ नम्बरको मिनिटाटा गाडीमा लुकाई ल्याएको ५४ क्युफिट अबैध सालको काठ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गाडी चालक हेटौंडा उपमहानगरपालिका–११ स्मारक बस्ने २३ वर्षीय सुखराम रुम्बा र सोही उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय दिपेश लामा रहेका छन् ।
बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा लुकाई ल्याएको उक्त काठ फेला पारी गाडीका चालक सुखराम र सो काठ ओसार–पसारमा संलग्न सोही गाडीको पछाडि ना.५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएका दिपेशलाई उक्त काठ, गाडी र मोटरसाइकल सहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्ययक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।