महोत्तरी । लोहारपट्टी नगरपालिका–६ बस्ने ४५ वर्षीया गायत्री देवी साह अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट सोमबार राति घाइते भएकी छन् ।
रातको समयमा अपरिचित व्यक्तिहरुले आफ्नो घरमा चोरी गर्दै गरेको थाहा पाएपछि हो–हल्ला गर्दा उनीहरुले गायत्रीको बाँया खुट्टाको तिघ्रामा गोली प्रहार गरेका थिए । घाइते गायत्रीलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । गोली प्रहारपश्चात ती व्यक्तिहरुले सुन तथा चाँदीका विभिन्न गहना, नगद २५ हजार रुपैयाँ र २ थान मोबाइल समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल लिई फरार भएका छन् ।
घटनास्थलबाट कटुवा पेस्तोलमा लाग्ने १ राउण्ड लाईभ गोली र १ राउण्ड खाली खोका प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।