काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेपछि पार्टी केन्द्रको निर्देशनको अवज्ञा मात्र भएको छैन, तिथि पनि बिगारिएको छ ।
स्थायी कमिटीको निर्णयविपरित माधवकुमार नेपाल पक्षका बहुमत सांसद रहेका उक्त प्रदेशमा यसरी गरिएको निर्णयलाई अध्यक्ष केपी शर्मा ओलीले नोट गरेका छन् ।
बुधबार बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गर्दै एमाले स्थायी कमिटीको निर्णयको अवज्ञा गरेपछि अब के होला ? भन्ने चासो देखिएको छ ।
कोरोना महामारीमा एमालेलाई एकताबद्ध बनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले जानकारी दिए। यो निर्णयले एमाले स्थायी कमिटीको निर्देशनको अवज्ञा गरेको विषयमा भने उनले केही भनेनन्। उपयुक्त समयमा सरकार फेरिने प्रतिक्रिया मात्र दिए ।
यो निर्णयसँगै संकटमा रहेका माओवादी तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित त्रिलोचन भट्ट केही दिन त टिक्ने भए पनि एमालेले सांसदलाई कारबाही गरे के होला ? भन्ने प्रक्षेपण गर्न थालिएको छ ।
बजेट ल्याउने बाध्यतालाई देखाएर पार्टी केन्द्रलाई चुनौति दिइएको उक्त निर्णय माधव नेपाल गुटको प्रभावका कारण भएको संस्थापनको ठहर रहेको छ। एक नेता भन्छन्,‘पार्टीले उपयुक्त कारबाही गर्नेछ ।’