बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रहरी समायोजन प्रक्रिया फेरि अन्योलमा

आइतबार, बैशाख २६ २०७८

कोरोनाको नयाँ संक्रमण बढेसँगै सुरक्षा निकाय यसको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने भएपछि नेपाल प्रहरीको प्रदेशमा समायोजन फेरि रोकिएको छ । गृह मन्त्रालयले समायोजनाको तयारी लगभग पूरा गरे पनि तत्कालका लागि यससम्बन्धी काम रोकिएको छ । 

कोरोनाको पहिलो लहरका कारण समायोजन प्रभावित भएको थियो । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेपछि दोस्रोपटक समायोजनको काम रोकिएको थियो । अहिले कोरोनोका दोस्रो लहर बढेपछि प्रहरी समायोजनको काम तेस्रोपटक रोकिएको हो । ‘अहिले सबैतिर क्राइसिस छ, हामी त्यसमै केन्द्रित छौँ,’ प्रहरी समायोजन समितिका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले भने, ‘समायोजनको काम तत्कालका लागि रोकिएको छ ।’ 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयसँगै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले समायोजनको तयारी थालेका थिए । समायोजनका लागि कार्यविधि तथा सफ्टवेयर बनाउने काम अन्तिम चरणमा पुगेको छ । ‘माथिल्लो निकायबाट आदेश आएलगत्तै समायोजनको काम सुरु गर्न सक्ने अवस्थामा पुगेका थियौँ,’ गृह स्रोत भन्छ, ‘सुरक्षाकर्मी कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका वेला त समायोजनको काम अघि बढाउने कुरा भएन ।’ 

प्रधानमन्त्री केपी ओलीले नै समायोजनको कामलाई प्राथमिकता नदिन निर्देशक दिएको स्रोत बताउँछ । अर्को चुनावसम्म उनी प्रहरीलाई आफ्नै कमान्डमा चलाउन चाहन्छन् । समायोजनपछि प्रहरी प्रदेश सरकारको मातहत जाने भएकाले उनले समायोजनलाई ढिलाइ गरेका हुन् । यसविरुद्ध प्रदेश सरकारहरूले पटक–पटक केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । कर्मचारी समायोजन भएको तीन वर्ष हुँदा पनि प्रहरीको भने समायोजनको काम सुरु हुन सकेको छैन । 

प्रहरी समायोजनका लागि ऐन गत वर्ष नै आइसकेको थियो भने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन गत मंसिरमा मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । प्रहरी समायोजन ऐनअनुसार डिएसपीसम्मका प्रहरी प्रदेशमा समायोजन हुनेछन् । डिएसपीसम्मका सबै प्रहरीले आवेदन दिने र सफ्टवेयरमार्फत समायोजनको निर्णय हुने गरी तयारी भएको छ । कार्यरत पदको ज्येष्ठता, कम्तीमा एक वर्षदेखि कार्यरत प्रदेश, स्थायी बसोवासको ठेगाना, नागरिकताको ठेगाना र उमेरको ज्येष्ठताका आधारमा समायोजनको निर्णय हुनेछ । प्रदेशमा समायोजन भइसकेका कर्मचारी पछि अन्य प्रदेशमा जान पाउने प्रावधान प्रस्ट नभएकाले समायोजनमा अन्योल छ । नेपाल प्रहरीसम्बन्धी नयाँ ऐन नआउँदा यससम्बन्धी टुंगो लाग्न नसकेको हो । 

संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार नेपाल प्रहरीमा २४ हजार आठ सय १६ र सातवटा प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति रहनेछ । प्रदेश १ मा १० हजार ७१७, प्रदेश २ मा नौ हजार १५२, बागमती प्रदेशमा सात हजार तीन सय चार, गण्डकीमा ६ हजार ७४५, लुम्बिनीमा नौ हजार ४४३, कर्णालीमा पाँच हजार ४५८ तथा सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९०१ प्रहरीको दरबन्दी कायम गरिएको छ ।

हरेक प्रदेशमा एक डिआइजी र तीन एसएसपीको दरबन्दी हुनेछ । प्रदेश प्रहरी प्रमुख डिआइजी हुन्छन् । प्रदेश प्रहरी कार्यालयमा दुई तथा प्रदेश तालिम केन्द्रमा एक एसएसपीको दरबन्दी हुन्छ । त्यसअनुसार सात प्रदेशमा सात डिआइजी, २१ एसएसपी, ६९ एसपी, एक सय ८१ डिएसपी, सात सय ३२ इन्स्पेक्टरको दरबन्दी कायम भएको छ । यस्तै, दुई हजार दुई सय ५७ सइ, पाँच हजार दुई सय ७४ असइ, १० हजार ६ सय ११ हवल्दार, ३२ हजार आठ सय १८ जवान र एक हजार नौ सय १६ कार्यालय सहयोगी हुनेछन् ।

नयाँ भर्ना भएर तालिममा रहेका आठ सय ३४ प्रहरी जवानको दरबन्दी पनि प्रदेशमा कायम गरिएको छ । डिएसपीसम्म मात्र समायोजन हुने भएकाले एक सय तीनजना दरबन्दीमा रहेर प्रदेशमा काम गर्नेछन् । प्रदेशहरूमा ५० हजार सात सय ९४ जनपद र तीन हजार नौ सय २६ प्राविधिक प्रहरी हुने भएका छन् । 

नेपाल प्रहरीमा एक आइजिपी, पाँच एआइजी, २७ डिआइजी र ५८ एसएसपीको दरबन्दी हुनेछ । एक सय एक एसपी, दुई सय ७२ डिएसपी, सात सय ५६ इन्स्पेक्टरको दरबन्दी कायम भएको छ । यसैगरी, तीन हजार ३९ सइ, दुई हजार पाँच सय ११ असइ, चार हजार तीन सय ७८ हवल्दार, १३ हजार चार सय एक जवान र एक हजार एक सय १५ कार्यालय सहयोगी रहेछन् । एक सय ६० प्रशिक्षार्थी असइ र इन्स्पेक्टरको दरबन्दी पनि केन्द्रमा राखिएको छ । सरकारबाट स्वीकृत भएको नयाँ दरबन्दी संरचनाअनुसार प्रहरीको पदस्थापन भने सुरु भइसकेको छ ।

सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० ऐनलाई अध्यादेशमार्फत संशोधन गरी २१ वैशाखमा जारी गरेको छ । जसमा उपत्यकाका तीन जिल्लाको सुरक्षा केन्द्रीय प्रहरीले नै हेर्ने उल्लेख छ । पहिला पनि यससम्बन्धी प्रावधान अध्यादेशमार्फत संशोधन गरेकोमा सो अध्यादेश संसद्ले ६० दिनभित्र अनुमोदन नगरेपछि फेरि नयाँ अध्यादेश ल्याइएको हो । आजको नयाँ पत्रिकामा खबर छ l